कामदारको ज्यालामा कमिसन, ठेक्का छोड्ने चेतावनी


असार ३०,दैलेख
दैलेखको महत्वपूर्ण पर्यटकीय क्षेत्र शिरस्थान जाने मुख्य सडक निर्माणमा विवाद देखिएको छ । दैलेख जिल्ला भ्रमण गर्न आउने अधिकांश पर्यटकहरु ओहोर दोहोर गर्ने शिरस्थान सडकलाई पर्यटकीय सडक भनेर गत वर्ष देखि कालोपत्रेको निर्माण थालियो, संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेत अन्तर्गत कालोपत्रेको ठेक्का खोलेसँगै सुपरस्टार कम्पनीले उक्त कामको जिम्मेवारी पायो, नालीबिनाको सडक कालोपत्रे गर्ने स्टिमेट भएको भन्दै ग्राभेल हुने बेलामै स्थानीय बासिन्दाहरूले नाली सहितको सडक निर्माण गर्नुपर्ने माग गरे, त्यसपछि काम रोकियो पुनः शिरस्थान सडकको स्टिमेट परिवर्तन भयो, स्टिमेटमा पक्की नाली सहित, अफ्ठेरो मोडमा सरिया सहितको पिसिसि र बाँकी सबै सडकमा कालोपत्रेको काम पुनः सुरु भयो ।

आर्थिक वर्ष २०७८ । ०७९ को पुस मसान्त सम्म सडक कालोपत्रे गरिसक्ने गरी अहिले धमाधम काम सुरु भइरहेको छ । बहुबर्षे योजना अन्तर्गत करिब ४ करोड ७५ लाखको लागतमा उक्त सडक निर्माणको काम सुरु गरिएको हो ।
काममा गुणस्तरीयता नभएको भन्दै एक साता अघि पिसिसि गरिएको केही स्थान निर्वाचित वडा सदस्यले भत्काए, उनले सडक भत्काएसँगै प्रमुख जिल्ला अधिकारी सहितको टोली समेत अनुगमनमा पुग्यो कामदारले गिटी प्रयोग गर्नुपर्नेमा गिटी आउन ढिला भएपछि पाँच मिटर जति सडक पिसिसिमा मोरगं प्रयोग गरेको पत्ता लाग्यो, मोरगं प्रयोग गरिएको काम भत्काइयो र पुनः गिटी राखेर पिसिसि सुरु भयो । अहिले सबैको निगरानीमा गुणस्तरीय काम सुरु गरिएको छ ।

काम सुरु भइरहेका बेलामा अनावश्यक कर्मचारीलाई धम्की दिने, सडकमा बिच्छाएको सरियामा ठुला सवारी साधन कुदाइदिने जस्ता कामहरू भएको भन्दै निर्माण कम्पनीले गुनासो गरेको छ । शिरस्थान धार्मिक महत्वको स्थान हो, जिल्लाका अधिकांश मानिसहरूको मृत्यु हुँदा सयौँ वर्षदेखि शिरस्थानको आगोले दागबत्ती दिने प्रचलन अहिले पनि कायमै रहेको छ । यस्तो ऐतिहासिक महत्वको सडक निर्माणको काम प्रभावकारी बनाउन सबैले साथ दिनुपर्ने र अनावश्यक विवाद कसैले राख्न नहुने प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए, हामीले प्राविधिकको कुरालाई मान्ने हो, कुन व्यक्तिको स्वार्थ के छ त्यसमा लाग्दैनौ, दैलेखको महत्वपूर्ण विकास भएकोले यसको काम प्रभावकारी र भनेकै समयमा सम्पन्न गर्नुपर्छ भनेर आफूले निर्माण कम्पनीलाई तोकेता गरेको र अनावश्यक विवाद नगर्न स्थानीयलाई आग्रह गरेको बताए ।

वडा नं. १ का वडा अध्यक्ष तीर्थ नारायण श्रेष्ठले शिरस्थान सडक जिल्लाकै भाग्य र भविष्य निर्धारण गर्ने सडक भएकोले व्यक्तिगत पूर्वाग्रह छोडेर राम्रो काम गर्ने वातावरण सृजना गर्न सबैलाई आग्रह गरेका छन् । सडक विभागका कर्मचारी, इन्जिनियर, निर्माण कम्पनीको प्राविधिक र वडा नं. १ को वडा कार्यालयको प्राविधिक सहित वडा अध्यक्ष र अन्य चासो राख्ने नागरिकहरुले समेत सडक निर्माणलाई प्रभावकारी बनाउन खबरदारी गरेका छन् ।

सिडिओकै अगाडी कामदारले भने हाम्रो ज्यालामा कमिसन खाइयो ।

सडक निर्माणको काममा अवरोध हुने मुख्य विषय कामदारको ज्याला रहेको खुलेको छ । प्रमुख जिल्ला अधिकारी अनुगमन गर्न गएकै बेला एक कामदारले भने, हाम्रो ज्यालामा समेत कमिसन खाने काम भयो, यो कुरा हामीले थाहा पाएपछि सिधै कम्पनीसँग काम गर्छौँ भन्यौँ, त्यसपछि मात्रै विभिन्न बहाना बनाएर विवाद बढाउने काम भएको हो ।
कमिसन खाने व्यक्तिको नाम भन्दैनौँ, प्रमुख जिल्ला अधिकारी ज्यू यो सडकमा दैनिक १५ जना सम्म स्थानीय कामदार लागेका थिए, ठेकेदारबाट दैनिक ७ सय लिँदा रहेछन्, हामीलाई ६ सय रुपैयाँ दिन्थे, हामीलाई थाहा भयो, हाम्रो ज्यालामा समेत कमिसन खाइएछ त्यसपछि हामीले सिधै ठेकेदार सँग दैनिक ७ सय दिन आग्रह गर्र्यौं अव कमिसन खानेलाई सिडिओले खोजी गरिदिनुपर्र्यौं, गरिबको ज्यालामा कमिसन खाने र ठुला कुरा गर्ने अधिकार कसैलाई हुँदैन ।

काम छोड्ने निर्माण कम्पनीको चेतावनी

निर्माण कम्पनीले आफूहरूले स्टिमेट अनुसार राख्नुपर्ने, रडको साइज, सिमेन्टको क्वालिटी र सबै कुरा पूर्ण रूपमा पालना गरेर प्रभावकारी काम गरेको दाबी गरेको छ । राम्रो काम गर्दा गर्दै व्यक्तिगत रिसिवी साँधेर दिनहुँ काममा अवरोध गर्न थालेको आरोप लगाएको छ ।
दैलेख सदरमुकाम शिरस्थान हुँदै दुल्लु आवत जावत हुने मुख्य मार्ग भएकोले काम सुरु गर्दै गर्दा केही दिन सडक बन्द गर्नुपर्ने अवस्था आयो सडक पिसिसि गर्दा न्यूनतम १५ दिन सडक अवरुद्ध गर्नुपर्ने अवस्था थियो, हामीले त्यही भन्यौँ तर दैनिक सयौँ मोटरसाइकल, ट्याक्टर र अन्य सवारी साधन आवत जावत गर्दा बिच्छाईएको सरिया समेत बङ्गाइदिने, कामदारलाई धम्की दिने क्रम बढेपछि काम गर्न नसकिने अवस्था आएको भन्दै निर्माण कम्पनीले सङ्घीय आयोजना कार्यान्वयन इकाईमा पत्र समेत पठाएको छ ।

गुणस्तरीय काम गरेका छौँ, ल्याब टेस्ट गर्नुहोस्, तर काम गरिरहेका बेलामा कामदारको कुरा, सडकमा मोटरसाइकल लिन नपाएको जस्ता सामान्य कुरा ल्याएर बुझ्ने मानिसहरूले नै दिनहुँ आफ्ना कर्मचारीलाई धम्की दिएको गुनासो आफूसँग आएको तारा शाहीले बताइन ।
निर्माण कम्पनीले काम छोडे शिरस्थान सडकमा पुनः बजेट विनियोजन नहुने र समग्र दैलेखलाई घाटा हुने भएकोले सबैसँग समन्वय गरेर काम अगाडी बढाउन सबैसँग समन्वय गरेको र काम नरोकिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार